पीएम कप क्रिकेट आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाटै बाहिरियो



काठमाडौं माघ ७ ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश १ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । प्रदेश १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए ।

भिम सार्कीले २९ रन जोड्दा राजेश पुलामीले अविजित २४ रन बनाए । लोकेश बमले १३ रन बनाए । प्रदेश १ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ,दिपेश कँडेल र शुभंकर उराले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो ।प्रदेश १ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९ रन जोडे । दिपेश कँडेलले ११ रनमा आउट भए । आर्मीका शाहब आलमले ४ विकेट लिए । आकाश चन्दको नाममा ३ विकेट रह्यो ।

जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ए को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो ।

प्रदेश १ को भने यो लगातार तेस्रो हार हो । प्रदेश १ तीन खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ । यस हारसंगै प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि प्रदेश १ एपीएफ र गण्डकीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्