भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने



काठमाडौं माघ ७ ।

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताए। उनले विश्वमा भर्खरै विकास भएको कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीमा मात्रै सीमित नरहेर राजनीतिक सामग्रीको रूपमा समेत देखिएकाले यसको उपलब्धताको लागि राजनीतिक रूपमा पहल हुने बताए।

मन्त्री त्रिपाठीले नेपालको ७२ प्रतिशत मानिसलाई खोप दिनुपर्ने आँकलन सरकारले यसअघि नै गरिसकेको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेकाहरूलाई खोप दिने बताए।

थप खोप खरिद तथा प्राप्तिका लागि पनि पहल भइरहेकाले चाँडै थप खोप ल्याएर आम मानिसलाई लगाउने पनि मन्त्री त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्