प्रधानमन्त्री कपमा एपीएफसँग गण्डकी पराजित



काठमाडौं माघ ८ ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए ।

यो जितसँगै समूह ‘ए’ को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्