संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ



काठमाडौं, माघ ९ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएको छ । हिँडडुल गर्न नसक्ने भएपछि सात दिनयता चिकित्सकको निगरानीमा घरमै रहेका उनमा रुघाखोकी र शरीरमा कमजोरीपना देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जोशीमा हर्नियासमेत देखिएकोको चिकित्सकको भनाई छ । हिँडडुल गर्न अप्ठेरो भएपछि सात दिनअघि उनलाई किष्ट मेडिकल कलेजमा लगिएको थियो । डाक्टरले ठूलो समस्या नदेखिएकोले घरमै आराम गरेर बस्न भनेका छन् । उनको स्वास्थ्य अवस्थाबारे बुझ्दा घरमै स्वास्थ्यकर्मी राखिएको छ । उनको उपचारमा संलग्न नर्स पुनम भुसालले शरीरमा कमजोर र आलस्यता बढेका कारण समस्या देखिएको बताइन् ।

‘उहाँको स्वास्थ्य सामान्य नै छ,’ उनले भनिन्, ‘उमेरको हिसाबले पनि केही कमजोरी हुने बेला हो, तर उहाँमा त्यस्तो ठूलो समस्या केही होइन, शरीरमा कमजोरीपन मात्रै बढेको हो ।’

शरीर कमजोर भएपछि उनलाई किष्ट मेडिकल कलेजमा लगिएको थियो । उमेरले १०१ वर्ष पुगेका जोशी सहज भएर कुराकानी गर्न सक्छन् । बिरामी हुनुअघि उनी घर वरपर हिँडडुल गर्न सक्ने भए पनि सात दिनयता उभिएर हिँड्न सकेका छैनन् ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्