विद्यार्थीलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ



धनगढी माघ ९ ।

कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

कानुन विपरीत प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको गौरीगंगा–८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई ठगेको आरोप लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले चौधरी लामो समयदेखि ठगी कार्यमा संलग्न देखिएको बताए । ‘अनुमतिबिना नै गैरकानुनी रूपमा सञ्चालन गरी इन्टिच्युटमा अध्ययनरत १ सय १८ जनाबाट चौधरीले ४९ लाख ८ हजार ४ सय असुली गरेको देखिएको छ,’ उनले भने, ‘ठगी गरेको जाहेरी दरखास्तका आधारमा ठगी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएको थियो ।

कैलाली जिल्ला अदालतले २ महिना कैद र ३ लाख ८ हजार जरिवानाको फैसला सुनाएको थियो ।’ चौधरीले थप १९ लाख ६५ हजार ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो । प्राविधिक विषय पढाउने कलेज रहेको कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीबाट रकम असुली गरिएको थियो । तर, परीक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरुले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए ।

यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए । तर ९९ लाख धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्योलमा परेको थियो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाट समेत रकम असुली गरेको अनुसन्धानले देखिएका छ ।

प्रतिक्रिया दिनुहोस्