विप्लवका कार्यकर्ताले गरे यात्रुबाहक बस तोडफोड



झापा माघ १० ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।

घरेलु हतियार खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । प्रहरीका अनुसार यो घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा-माओवादीको संलग्नता हुन सक्ने अनुमान गरिएको छ । किराँत चोकमा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बस रोकेर खुकुरीसहित आएका उनीहरुले बसको सिट काटेका हुन्।

बसको अगाडिको भागको सिसासमेत फुटाइदिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनीहरूले मट्टितेल छर्केर उक्त बसलाई आगजनीको प्रयास गरेका थिए। आगजनी प्रयास गरेपछि बसमा रहेका यात्रुहरू चिच्याएको कारण आगजनीबाट जोगिएको प्रहरीले बताएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दका बाबजुद झापामा सार्वजनिक यातायातका साधन बिहानैदेखि सञ्चालनमा आएका थिए ।

समूहमा आएका युवाले बन्दका दिन बस चलाएर किन उल्लंघन गरेको भन्दै बसको सिसा फुटाइदिएको यातायात मजदुरको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ। तोडफोड भएको बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्