राष्ट्रिय महिला लिगमा एपिएफको लगातार तेस्रो जित



काठमाडौं माघ १३ ।

राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मंगलबार खेलमा उसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–० को जित हात पारेको हो । एपिएफको जितमा अञ्जलीकुमारी योञ्जन र सरु लिम्बूले १–१ गोल गरे । खेलको २७ औँ मिनेटमा अञ्जलीले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । उनले सावित्रा भण्डारीको पासलाई सदुपयोग गरेकी हुन् ।

थप गरिएको समयमा सरुले सावित्राकै पासलाई गोलमा परिणत गर्दै एपिएफको अग्रतालाई दोब्बर बनाइन् । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि एपिएफले २–० जित दर्ता गरेको हो । जितसँगै एपिएफ ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायम छ । उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० र दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–०ले हराएको थियो ।

प्रतियोगितामा पहिलो पराजय व्यहोरेको आर्मी समान खेलबाट ४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको उसले दोस्रो खेलमा वालिङ नगरपालिकालाई ७–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्