काठमाडौ महानगरपालिकाले १६ सय कर्मचारीलाई कोरोना खोप लगाउँदै



काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था गरेको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले राजधानीको टेकु र वीर अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए।

उनले फोहोर व्यवस्थापनमा कार्यरत ९ सय ५०, करिब १ सय ५० स्वाथ्यकर्मी र सबै वडाका ५ सय ४३ स्वास्थ्य स्वयंसेविकलाई खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए । कामपाले अग्रपंक्तिमा खटिएका कर्मचारीलाई अनलाइनमार्फत फाराम भर्न लगाउने र दिन तोकेर खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

महानगरले स्वाब संकलनमा खटिएका, घर–घरमा कोभिड संक्रमितलाई सेवा दिइरहेका, फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप लगाउन राजधानीका वीर र टेकु अस्पतालाई जिम्मा दिएको छ । पहिलो चरणमा अग्रपंक्तिका कर्मचारीलाई खोप लगाउने व्यवस्था गरेलगत्तै दोस्रो चरणको खोपबारे कार्ययोजना बनाउने तयारी भइरहेको विभागीय प्रमुख कुँवरको भनाइ छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्