तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइनेछ :प्रधानमन्त्री ओली



काठमाडौं माघ १४ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

कोरोना विरुद्धको खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँ माथि उठेको बताए । उनले अबको तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइने समेत बताए ।

प्रधानमन्त्री ओलीले प्राथमिकताको आधारमा निशुल्क खोप उपलब्ध गराउने बताउदै नागरिकको जीवन रक्षाका लागि आवश्यक बजेटको प्रबन्ध गरेको बताए । प्रधानमन्त्री ओलीले देशमा कोरोना खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आम नागरिकलाई आग्रह गरे ।

उनले आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि आग्रह गरे । साथै उनले कोरोना राम्रो सँग साम्य नभएसम्म मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, उचित खानपान र सरसफाइमा ध्यान दिन सुझाव दिए । विज्ञहरूले पनि खोप लगाउने बित्तिकै संक्रमणको जोखिम अन्त्य नहुने भएकाले सावधानी जारी नै राख्नुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्