जुम्ला आगलागी अपडेट : ३२ घर र ७० पशु चौपाया जलेर नष्ट, ३ करोड बराबरको क्षति



जुम्ला माघ १४ ।

जुम्लाको तिला गाउँपालिका वडा नं ७, पोखरीस्थित गोठीगाउँमा मंगलवार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् ।

आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मरेकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । गएराति स्थानीय परबहादुर रोकायको घरबाट सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आज दिउसो मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण भने आइनपुगेको डीएसपी काफलेले बताए । सडक नपुगेको ठाउँ, भिरालो बस्ती र घरमा एकैपटक आगलागी हुँदा समयमा नियन्त्रणमा लिन कठिन भएको र धेरै धनमालको क्षति भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्