राष्ट्रिय महिला लिग : कुसुम खड्काको ह्याट्रिकमा विराटनगरको पहिलो जित



काठमाडौं माघ १४ ।
कुसुम खड्काले ह्याट्रिक पुरा गरेपछि विराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ ।

विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा विराटनगरको जितमा कुसुम खड्काले ह्याट्रिक पुरा गर्दा अनु राई र सरिता शेर्पाले गोल गरिन् । खेलको १२औं मिनेटमा कुसुम खतिवडाले गोल गर्दै विराटनरगलाई अग्रता दिलाइन् । सिर्जना सिंहले दिएको पासलाई उनले एक प्रयासमा एक डिफेन्डरलाई बिट गर्दै वान भर्सेस वानको अवस्थामा गोल गरेकी थिइन् ।

१५औं मिनेटमा विराटनगरकी गोलरक्षक कल्पना कार्कीले पेनाल्टी बक्सबाहिर आएर बल रिलिज गरेपछि प्राप्त फ्रिकिकमा रजनी थोकरको फ्रिकिकलाई डिफेन्डरले बचाइन् । ३०औं मिनेटमा सविता रानामगरको प्रहारलाई गोलरक्षक कल्पना कार्कीले बचाएपनि डिफ्लेक्ट भएको आएको बललाई मेनुका आलेले खाली पोस्टमा गोल गर्न सकिनन् । ३३औं मिनेटमा अनु राईले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनायो । इमा राईको क्रसलाई गोलरक्षक युनिसा राईले पञ्च गर्ने प्रयास गरेपनि त्यसमा प्राप्त बललाई अनुाले गरेको प्रहारलाई कप्तान रोजिना श्रेष्ठले हेडमार्फत बचाउने प्रयास गरेपनि बलले जाली चुमेको थियो । ४४औं मिनेटमा सविता राना मगरको कर्नरलाई गोलरक्षक कल्पना कार्कीले पञ्च गर्दै बचाइन् ।

५१औं मिनेटमा इमा राईको प्रहार पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाइन् । ६३औं मिनेटमा सरिता शेर्पाले गोल गर्दै विराटनगरलाई ३–० ले अघि बढाइन् । इमा राईको कर्नरमा चन्द्रपुरका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई सरिताले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् । ७४औं मिनेटमा कुसुम खड्काले गोल गर्दै विराटनगरलाई ४–० को फराकिलो जित दिलाइन् । लगत्तै ७५औं मिनेटमा कुसुमले ह्याट्रिक पुरा गर्दै विराटनगरलाई फराकिलो जित दिलाइन् । लिगमा यो पाँचौ ह्याट्रिक हो ।

यसअघि नेपाल एपिएफ क्लबकी सावित्रा भण्डारीले दुई तथा आर्मीकी बिमला चौधरी र चन्द्रपुरकी सविता रानामगरले ह्याट्रिक पुरा गरेकी थिइन् । खेलमा ह्याट्रिककर्ता कुसुम खतिवडा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ५ हजार रुपैया हात पारिन् । जितसँगै विराटनगरको तीन खेलबाट ४ अंक पुगेको छ । पराजित चन्द्रपुरको पनि ४ अंक नै छ ।
लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदन्डीगढी नगरपलिका उदयपुर तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्