नेपालमा भ्रष्टाचार झन् बढ्यो, भ्रष्टाचार सुचकांकमा गतवर्ष नेपाल ११७औँ स्थानमा



काठमाडौं माघ १५ ।

ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालमा भ्रष्टाचार थप मौलाएको बताएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचार झन् बढेको देखाएको हो । भ्रष्टाचार सुचकांकमा गतवर्ष नेपाल ११३औँ स्थानमा रहेकोमा यसवर्ष ११७औँ स्थानमा झरेको देखाएको छ । यही स्थानको आधारमा यसवर्ष नेपालको सुशासनको अवस्था झन् बढी निरासाजनक देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

भ्रष्टाचार र सुशासनमा नेपालले ३३ अंक पाएपनि स्थान भने ११७औंमा पुगेको छ । गत वर्ष नेपाल ३४ अंकका साथ ११३औँ स्थानमा रहेको थियो । यस वर्ष नेपालले भन्दा अरु चार देशको सुशानमा प्रगति भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्यूजील्याण्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । साउथ सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।

दक्षिण एशियाली मुलुकमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २४ औं स्थान रहेको छ । यो आँकडाले दक्षिण एसियामा भुटानमा भ्रष्टाचार सबैभन्दा कम हुने देखाएको छ । त्यस्तै, मालदिभ्स ४३ अङ्क प्राप्त गरी ७५ औं स्थान र भारतले ४० अङ्क प्राप्त गरी ८६ औं स्थान कायम गरेको छ ।

श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९४ औं स्थान, नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरी १६५ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्