प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आर्मी एपिएफ भिड्ने



काठमाडौं माघ १५ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।

आर्मीले बिहीबार दोेस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेल माघ १७ मा हुनेछ । आर्मीेले दिएको २३० को लक्ष्य पछ्याउने क्रममा बागमती ४०।१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रनको योगदान दिए ।

२७.५ ओभरमा सुशन भारीले एलबिडब्ल्यूको सिकार बनाउनुअघि उनले ६० बलमा ४ चौका प्रहार गरे । विपिन आचार्यले २३, नन्दन यादवले २२ र आदिल खानले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि जितेन्द्र मुखियाले ४, सुशन भारी र विक्रम सोबले समान ३–३ विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ५० ओभरमा सबै विकेट गुमाएर २२९ मा समेटिएको थियो । खराब सुरुवात गरे पनि राजेश पुलामी मगर र विक्रम सोबले ७औँ विकेटका लागि ९२ रनको साझेदारी गरेपछि आर्मीेले यो योगफल तयार पारेको हो ।

४५.३ ओभरमा रामनरेश गिरीले विक्रमलाई व्यक्तिगत ३५ रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै यो साझेदारी तोडे । विक्रमले ५८ बलमा ३ चौका प्रहार गरे । अन्तिम ओभरको चौथो बलमा गौतम केसीले विकेटकिपर थापाबाट स्ट्याम्पिङ गराउनुअघि राजेशले ९१ बलको समाना गर्दै ४ चौका र २ छक्काको मद्दतमा ६५ रनको योगदान दिए । भीम सार्कीेले ४० र लोकेश बमले २३ रन बनाए ।

बागमतीका लागि गौतम केसीले ५, रामनरेश गिरी, विपिन आचार्य, नन्दन यादव र तिलकराज भण्डारीले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस्