पैसा पठाएको साता दिनसम्म पनि सामान आएन : व्यवसायी



काठमाडौं,वैशाख १५ । कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ ।

दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए । अहिले खुद्रा व्यवसायीले अग्रिम भुक्तानी गरेको साता दिनसम्म पनि सामान नआएको बताएका छन् ।

‘चामल, दाललगायत सामानका लागि अघिल्लो साता नै अग्रिम भुक्तानी पठाएको थिएँ,’ खुद्रा व्यवसायी अर्जुन खड्काले भने, ‘पहिले शुरूमै सामान आउने गरेकोमा अहिले पहिले नै पैसा पठाउँदा पनि सामान पाउन मुश्किल छ ।’ निषेधाज्ञा हुने भएपछि बजारमा ह्वात्तै माग बढेकाले मौज्दात सामान विक्री भएको र नयाँ किन्न खोज्दा सामान पाउनै मुश्किल भएको उनले बताए ।

व्यवसायीहरूले संकटको समयमा सामान लुकाएर कालोबजारीमा गरेको ग्राहकको आरोप छ । यस्तो समयमा अस्वभाविक मूल्य वृद्धि गर्ने, सामान लुकाउने, अनावश्यक भण्डारण गर्ने गरेको पाइन्छ । अघिल्लो वर्ष कोरोना रोकथामका लागि सरकारले बन्दाबन्दी लगाउने निर्णय गरेपछि पनि व्यवसायीहरूले सामान लुकाउन शुरू गरेका थिए । लामो समयदेखि व्यवसाय नभएकोमा निषेधाज्ञाको निर्णयपछि बजारमा ह्वात्तै माग बढेको व्यवसायीहरू बताउँछन् ।

नेपाल खुद्रा व्यवसायी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा बन्दाबन्दी भएयता नै कृत्रिम अभाव सृजना गरी थोकविक्रेताहरूले अस्वाभाविक मूल्य वृद्धि गर्न थालेको बताए ।

निषेधाज्ञा हुने हल्लाका कारण केही साताअघिदेखि नै तेल, चामल, दाल, गेडागुडी, चिनीलगायत सामानमा अनावश्यक मूल्य वृद्धि भएको उनले बताए । ‘हामीले सरकार र उत्पादकसँग बुझ्दा मूल्य वृद्धि भएको छैन भन्ने कुरा आउँछ,’ उनले भने, ‘तर, होलसेलमा किन्दा सामानको मूल्य बढेर आइरहेको छ ।’  आफूहरूले बढेको मूल्यको बिल माग्दा पनि बढेको मूल्यअनुसार बिल नदिने गरेको उनले बताए ।

‘मैले यस विषयमा उद्योगमन्त्री, उद्योग सचिव र आपूर्ति व्यवस्था विभागका पदाधिकारीलाई पनि जानकारी गराएको छु,’ उनले भने, ‘उहाँहरूले यसमा अनुगमन गर्ने बताए पनि मूल्य बढेरै आइरहेको छ ।’

उनले बजारमा अभाव भने नरहेको बताए । ‘आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस विषयमा छलफल भएको थियो । व्यवसायीहरूले २/३ महीना पुग्ने सामान मौज्दात रहेको बताएका छन्,’ उनले भने, ‘सरकारले आपूर्ति व्यवस्था पनि सहज बनाउने बताएको छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विज्ञप्ति नै जारी गर्दै बजारमा सामान पर्याप्त मौज्दात रहेको बताएको छ । निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन विभागले निरन्तर अनुगमन र सहजीकरण गरिरहेको बताउँदै कृत्रिम अभाव सृजना गर्ने, सामान लुकाउने, मूल्य वृद्धि गर्नेजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यवसायीलाई कारवाही गर्ने चेतावनी विभागले दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्