सिन्धुपाल्चोकमा भूकम्प पीडितले तेस्रो किस्ता पाएनन्



सिन्धुपाल्चोक,वैशाख २८ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ का सुमन सापकोटाले गएको पुसमै घर निर्माण सम्पन्न गरिसकेका छन् । उक्त घर निर्माणमा उनले ५ लाखभन्दा धेरै रकम खर्च गरे । इँटा र सिमेन्टको पैसा उधारो राखेर घर बनाएका उनले तेस्रो किस्ता नआउँदा भुक्तानी गर्न सकेका छैनन् ।

‘साहुले पैसा चाहियो भनेर दिनकै भन्न थालिसकेका छन्,’ सापकोटाले भने, ‘अन्तिम किस्ताबापतको ५० हजार रुपैयाँ आएपछि तिरौंला भनेर कुरिरहेको छु ।’ सापकोटाजस्तै घर निर्माण सकिएको तर अन्तिम किस्ता प्राप्त गर्न नसकेकाहरूको संख्या जिल्लामा ४११ छ । भूकम्पपीडितले पाउनुपर्ने आवास निर्माणको अनुदान किस्ता रकम रोकिँदा उनीहरू मारमा परेका हुन् ।

गत फागुन मसान्तमा भुक्तानी दिएपछि चैत १ गतेदेखि किस्ता रोकिएको हो । अनुदानका लागि पीडितले निवेदन दिएर सो फाइल अन्तिम भुक्तानीका लागि चेक बन्ने प्रक्रियासम्म पुग्न एक महीनाभन्दा बढी लाग्छ । फागुन मसान्तपछि किस्ता रोकिँदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म अनुदान रकम पाउन सकेका छैनन् ।

पुनर्निर्माण प्राधिकारण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा नीजि आवास) सिन्धुपाल्चोकका सूचना अधिकारी रविराज धितालका अनुसार अर्थ मन्त्रालयबाट निकासा रोकिँदा भूकम्पपीडितले रकम पाउन नसकेका हुन् । ‘हामीले सबै प्रक्रिया सकेर अन्तिम भुक्तानीका लागि फाइल तयार गरेका राखेका छौं,’ धितालले भने, ‘तर अर्थ मन्त्रालयबाट निकासा रकम नआउँदा भुक्तानी दिन सकेका छैनौं ।’ किस्ता रोकिएपछि हरेक दिन लाभग्राहीले ‘मेरो किस्ता किन रोकियो’ भनेर फोन गर्ने गरेको र कतिपय लाभग्राही, जनप्रतिनिधि कार्यालयमै आएर दबाब दिने गरेको उनले बताए ।

उनका अनुसार चैतदेखि अहिलेसम्म दोस्रो किस्ता भुक्तानीका लागि योग्य भएका तर नपाएका लाभग्राहीको संख्या १ हजार ७७ छ । कुल ९१ हजार १२ जना लाभग्राही भएको सिन्धुपाल्चोकमा ९८ हजार ४४० जनाले अनुदान सम्झौता गरी ८९ हजार ४ सय ३८ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिएका छन् । उनीहरूमध्ये ८६ हजार १७९ ले दोस्रो किस्ताबापतको १ लाख ५० हजार र ७९ हजार ९८७ जनाले तेस्रो किस्ताबापतको ५० हजार रकम बुझिसकेका छन् ।

पहिलो किस्ता लिएका तर घर निर्माण नगरेका १३८ लाभग्राहीले भने सो रकम समेत फिर्ता गरेका छन् । जिल्लाभर आवास निर्माणका लागि कतै सुरक्षित जग्गा नभएका ९२० लाभग्राहीमध्ये ३९४ लाभग्राहीले घडेरी खरीदका लागि बढीमा २ लाख रुपैयाँसम्म प्राप्त गरेको कार्यालयको तथ्यांक छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्