केपी शर्मा ओली ४२औं प्रधानमन्त्रीमा नियुक्त



सपथ ग्रहण आज

काठमाडाैं,वैशाख ३१ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो तय गरिएको छ । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकी पदमुक्त हुनुभएको थियोे । उहाँले प्रतिनिधिसभामा विश्वासको मत लागि भएको मतदानमा तत्काल कायम २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । ओलीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । प्रधानमन्त्री ओली कामचलाउ भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिँदै नयाँ सरकारका लागि आह्वान गर्नुभएको थियोे ।

बहुमतको सरकार गठनका लागि ३ दिनसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच प्रयास भएको थियो । तर, अन्तिम समयमा आएर नेकपा एमालेको माधवकुमार नेपाल पक्षको असहयोग र जसपाकै महन्थ ठाकुर ओलीतिर ढल्किँदा गठबन्धनको सरकार बनाउने योजना सफल हुन सकेन ।

बिहीवार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जानकारी राष्ट्रपति कार्यालयका सचिव रूपनारायण भट्टराईले जानकारी दिए ।

ओली यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्नुभएको थियो । बिहीवार, एमालेको नेतृत्वमा सरकार बनाउन बिहीवार पार्टीभित्रको असन्तुष्ट पक्षलाई मनाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिनभर प्रयत्न गर्नुभयो ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग गर्नुभएको वार्तामा नेपाल समूहका सांसदले तत्काल राजीनामा नदिने समझदारी बन्यो ।

झन्डै ४ घण्टा भएको वार्तामा कार्यदल बनाएर अघि बढ्ने सहमति भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल समूहका सांसदले सहमतिका लागि अपरा≈न ४ बजेसम्मको समय दिएका थिए । सहमति नभए त्यसपछि राजीनामा दिने बताउँदै आएका थिए ।

वार्तास्थलबाट बाहिरिँदै गर्दा नेपालले राजीनामा तत्काललाई टरेको बताए ।

नेपाल समूहले एमालेलाई नेकपा (माओवादी केन्द्र) सँग एकीकरण हुनुअघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको थियो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्