चुरेमा ६ ओटा सिँचाइ योजनाको काम शुरु



गोदावरी (कैलाली),बैशाख १४ । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा ६ ओटा सिँचाइ योजना निर्माण शुरु भएका छन् । चुरे गाउँपालिका वडा नम्बर २, ४ र ६ गरी तीन वडामा ६ ओटा सिँचाइ योजना निर्माण शुरु गरिएका हुन् । 

चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ विस्तार गर्न उपभोक्ता समितिमार्फत योजनाको काम शुरु भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, धनगढीले जनाएको छ ।

चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित रु झण्डै एक करोडको लागतमा उपभोक्ता समितिमार्फत ६ ओटा सिँचाइ योजना निर्माण शुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताए ।

कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा रु १५ लाख, रानी भुकुडामा रु २० लाख, भुकुडा खोलामा रु १५ लाख, कुमैनामा रु १५ लाख, आमपानी खोलामा रु १५ लाख र बुङ्गा खोलामा १५ लाख बजेट विनियोजन गरिएको छ । 

तरकारी र फलफूल खेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेकबहादुर शाहले बताए । सिँचाइ योजनाले समस्यामा परेका किसालाई राहत मिल्ने उनको भनाइ छ । 

निर्माण शुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ । चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र, कैलालीले जनाएको छ ।

विभिन्न वडामा निर्माण शुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात किसानका खेतबारीमा बाह्रै महीना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्