नुवाकोटको शिवपुरीमा बाँदर धपाउने बन्दुक वितरण, किसानलाई हाइसन्चो



थानापति नमूना कृषि फार्मका बिकास पुडासैनी बाँदर धपाउने मेसिनका साथ

नुवाकोट,जेठ १५ । विकास निर्माणका अवधारणालाई अगाडि बढाउदै गइरहेको जिल्लाको शिवपुरी गाउँपालिकाले यहाँका किसानलाई बाँदर धपाउने उपकरण वितरण गरेको छ । किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि गाउँपालिकाले युपिभिसी तथा फलाम जडित पाइपबाट निर्माण भएको बाँदर धपाउने उपकरण वितरण गरेको हो।

‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किँदा बाँदर भाग्ने जनाइएको छ। बाँदरले आतंक मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। ‘शिवपुरीसहित जिल्लाको मध्यवर्ती क्षेत्र आसपास पञ्चकन्या, लिखु लगायत क्षेत्रका किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साझा समस्या हो’, अध्यक्ष थापाले भने, ‘यसको प्रयोगका लागि स्थानीय प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको छ।’

सो प्रविधि सरल र सस्तो रहेको बताइएको छ। ‘पहिलो चरणमा सेवा क्षेत्रका धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा गाउँपालिकाको ५० प्रतिशत शुल्कमा वितरण गरेका छौ’ उनले भने, ‘प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाका बारेमा आवश्यक प्रशिक्षण समेत गराइसकिएको छ ।’

कुल २ लाख रकममा खरिद गरी गाउँपालिकाले बाँदर आतंकबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा १०० उपकरण वितरण गरिएको शिवपुरी कृषि शाखाका उज्ज्वल थपलियाले बताए । शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका किसान सरोज थपलियालाई अहिले बाँदर धपाउन दौडाहा दौड गर्नुपर्ने समस्याबाट मुक्ति मिलेको छ। उनले साझापथसंग कुरा गर्दै भने ‘बाँदरको फौज आयो भन्ने बित्तिकै एकपटक पड्कायो हाईसन्चो!’

यसअघि बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य समेत हराउँदै गएकाले यस मेसिनको प्रयोगले बाँदर यसको आवाजसंग अभ्यस्त नहुन्जेल दोहोरो समस्या समाधान हुने थानापतिका नमूना कृषि व्यवसायी रामप्रसाद पुडासैनी बताउँछन् ।

गाउँगाउँमा मकै, तरकारी तथा फलफूल खाइदिने, टिपेर फालिदिनेजस्ता आतंक बाँदरले मच्चाउने गरेकामा गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेकोमा किसान हर्षित भएका छन् । ‘गाउँमा कसैले व्यावसायिकरुपमा त कसैले घरलाई आवश्यक पर्ने तरकारी तथा अन्य बाली लगाएका छन बाँदरको हुलका हुल आउँदा समस्या हुने गरेको थियो’, नमूना व्यवसायी किसान पुडासैनीले भने, ‘यसलाई अनावश्यक प्रयोग हुन नदिनेमा आफूहरु सचेत हुँदै सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुपर्छ ।’

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्