डण्डीमा बढाएको कर फिर्ता गर्न स्टील रोलिङ मिल्स एशोसिएशनको माग



काठमाडौं,भदौ २९ । नेपाल स्टील रोलिङ मिल्स एशोसिएशनले सकारको नीति विभेदकारी भएको बताएका छन् । 

सोमवार पत्रकार सम्मेलन गर्दै संघले सरकारले डण्डी सम्बन्धी ल्याएको नीतिले केही उद्योगी मात्र लाभाञ्वित हुने र बाँकी उद्योग घाटामा जाने बताएका हुन् । उनीहरुले डण्डीमा बढाएको कर फिर्ता गर्न माग गरेका छन्। 

हालै सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पञ्ज आइरन) पैठारी गर्दा भन्सार र अन्तशुल्क शुन्य प्रतिशत लाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनादर्न शर्माले चालू आर्थिक वर्षको संशोधित बजेटमार्फत फलामजन्य सामग्रीको कर बढाएका हुन् ।  

बजेटमा बिलेट आयात गर्दा ४ दशमलव ७५ प्रतिशत भन्सार कर लाग्ने उल्लेख छ। यसअघि आयत हुने बिलेटमा प्रति मेट्रिक टन एक हजार ६ सय ५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा त्यसमा वृद्धि गरी प्रतिमेट्रिक टन दुई  हजार पाँच सय रुपैयाँ अन्तःशुल्क लगाएको छ ।  

त्यस्तै, स्पञ्ज आइरन आयातमा लाग्ने गरेको ५ प्रतिशत कर भने सरकारले हटाएको छ । त्यस्तै अन्तशूल्क पनि हटाएको छ । यसअघि किलोमा १ रुपैयाँ ६५ पैसा थियो । स्पञ्ज आइरन र विलेट दुवै कच्चा पदार्थ नै हुन् जुन आइरन ओरबाट निर्मित हुन्छ । 

यसरी डण्डी उत्पादन गर्न आवश्यक कच्चा पदार्थ मध्ये एउटा कच्चा पदार्थमा मात्रै कर बढाउँदा विलेट आयात गरी उत्पादन गरिने डण्डी स्वतः महँगो हुन जाने संघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठले बताए । 

‘स्पञ्ज आयात गर्नेसँग विलेट आयात गर्ने उद्योगीहरूले प्रतिस्पर्धा गर्न सक्दैनन्, हामी त सोझै घाटामा जान्छौं,’ उनले भने । उनका अनुसार ६ ओटा उद्योगले स्पञ्ज आइरनबाट डण्डी उत्पादन गर्छन् भने २४ ओटा उद्योगहरुले विलेटबाट डण्डी उत्पादन गर्छन् । 

विलेटबाट उत्पादित डण्डी प्रतिकिलो ५ देखि ६ रूपैयाँसम्म महँगो हुँदा उपभोक्ता मर्कामा पर्ने व्यवसायी अञ्जन श्रेष्ठले बताए । स्पञ्ज आइरनबाट उत्पादित सामान गुणस्तरीय नहुने हुँदा यसबाट निर्मित संरचना टिकाउ नहुने उनको भनाइ छ ।

ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको ५०० डि ग्रेड नै आवश्यक हुन्छ ।  

‘स्पञ्ज आइरनबाट फलामे छड उत्पादन गर्दा ५०० डि ग्रेड बराबरको गुणस्तर हुन सक्दैन । उक्त गुणस्तरको लागि आयात गरिएको प्राइम बिलेट नै चाहिन्छ,’ उनले भने ।

व्यसायीका अनुसार पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्दछ । चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको छ भने भारतमा यस्ता उद्योगहरुलाई कडा निगरानीमा राखिएको छ ।

स्पञ्ज आईरनबाट डण्डी बनाउदा बिजुली खपत र रोजगारी त बढ्छ तर ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुने र उद्योग सञ्चालन गर्न भविष्यमा पनि वैदेशिक नागरिक नभई नहुने उनीहरूले बताएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्