टुँडिखेलमा शीप मेला शुरु, २०८१ जनालाई शीपमूलक तालिम दिइने



काठमाडौं,बैशाख २० । काठमाडौंको टुँडिखेलमा बुधबारबाट ‘शीप मेला’ शुरु भएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको मेलाको उद्घाटन उपमेयर सुनिता डंगोलले गरिन् । मेला जेठ २५ सम्म चल्नेछ । 

मेलामा २ हजार ८१ जनालाई निःशुल्क तालिम दिइने भएको छ । रोजगारदाताको आवश्यकता र बजारले मागेको जनशक्ति अभाव देखिएपछि तालिमको आवश्यकता महसुस गरेर मेला आयोजना गरिन लागिएको महानगरपालिकाले जनाएको छ । 

‘शिक्षालाई शीपसँग’, ‘शीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर शीप नहुनेलाई शीपयुक्त बनाउनु, शीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर शीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरपालिकाको भनाइ छ ।

मेलामा १० वटा क्षेत्रका २९ ओटा तालिम दिइनेछ । मागका आधारमा तालिमकाे क्षेत्र थप गर्न सकिने महानगरको भनाई छ । 

महानगरले तालिमका लागि अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहित क्षेत्र निर्धारण गरिएको छ । जसमा अटो मोबाइल्सअन्तर्गत अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी)सम्बन्धी तालिम दिइनेछ । यस्तै, निर्माणअन्तर्गत सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ्, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधामा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस प्रशिक्षण दिइनेछ । 

यसैगरी, सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी)अन्तर्गत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरासम्बन्धी तालिम सञ्चालन गरिनेछ भने मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी बनाउने तालिम दिइनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ भने गार्मेन्ट्सअन्तर्गत टेलरिङ्/ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ ।

यस्तै, ब्युटिसियन (सौन्दर्य कला)अन्तर्गत नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल र सैलुन प्रशिक्षण हुनेछ भने पुरोहितअन्तर्गत पुरोहित र ज्योतिषसम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । 

प्रतिक्रिया दिनुहोस्