चीनतर्फका नाका पुन: सञ्चालनमा



काठमाडौं,पुस २५ । नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुन: सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन । बाक्लो हिउँले सडक ढाकेपछि ठप्प भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट शुक्रवार मात्रै १० ओटा कन्टेनर नेपाल आएको भन्सार अधिकारीको भनाइ छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुुसार ४ फीट अग्लो हिउँले सडक भरिएकाले १२० सीबीएमसम्म भारी बोकेका झन्डै सयओटा कन्टेनर भने न्यालम र खासा भ्यान पार्किङमै रोकिएका छन् । हिमपात कम भएसँगै ती नेपालतर्फ लोड गरेर ल्याइनेछ । यसअघि चीनका खासा र न्यालम क्षेत्रमा बाक्लो हिउँ पर्दा तातोपानी नाका बन्द थियो । शुक्रवारबाट भने कन्टेनर आवतजावत गर्न थालेका हुन् ।

त्यस्तै, हिमपातसँगै सुक्खा पहिराका कारण अवरुद्ध रसुवागढी नाका पनि सञ्चालनमा आएको छ । स्याफ्रुबेंशी–रसुवागढी खण्डको राजमार्गमा रहेको अवरोध हटाइएसँगै शुक्रवारदेखि नै पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुवाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारीसाधन निर्वाधरूपले आवतजावत गर्न थालेको स्थानीय प्रशासनको भनाइ रहेको छ ।

पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको व्यवस्थापन गरी टिमुरे तथा रसुवागढी क्षेत्रको अवरुद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोलानजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरुद्ध भएको थियो ।

राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए ।

ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भीरपाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेंशी–रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारीसाधन आवतजावत गराउँदा भू–धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह समेत गरेको छ ।

लोड भएर रसुवागढीतर्फ हिँडेका कन्टेनर पनि केरुङमै रोकिन पुगेका थिए । व्यवसायीहरूका अनुसार हिमपात कम भएसँगै ती वस्तु नेपालतर्फ पठाउन थालिएको छ । तातोपानी तथा रसुवागढी दुवै नाका सञ्चालनमा आउन थालेसँगै खासगरी रेडिमेड र जुत्ता चप्पल, विद्युतीय सामाग्रीसहित नेपालतर्फ लोड भएर आउन थालेका छन् ।

चिनियाँ पक्षले हिमपात अघिसम्म दैनिक बिहान नौ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक नौओटा कन्टेनरमार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएको थियो । अवरोध खुलेसँगै रसुवागढीबाट सोही गतिमै समान आउन थालेको व्यवसायीहरूको भनाइ छ । चीनबाट नेपालतर्फ तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्रीलगायत वस्तुहरू आयात हुने हुने गर्छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, शृंगारका सामान, ऊनी, गलैंचा, कार्पेट, भाँडाकुँडालगायत मुख्य वस्तुहरू निकासी हुने गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्