राष्ट्रिय एकता दिवस इतिहासको महत्वपुर्ण दिन



-रमेशकुमार महत

आजभन्दा करिब ३०० बर्ष पहिले विश्वव्यापी रुपमा राज्य निर्माणको प्रकृया चलेको थियो । १८ औं र १९औं शताब्दीमा अन्तराष्ट्रिय रुपमा भएका राज्य निर्माणका ईतिहासहरु हेर्ने हो भने पनि अहिलेका बिभिन्न देशहरु त्यसै समयमा एकिकृत भएका देखिन्छन् । त्यतिबेला ससाना राज्यबाट एकिकृत राज्य निर्माणको लहर नै देखिन्छ । एकिकृत राज्य निर्माणको लागि युद्द नै चलेको कयौ ऊदाहारण विश्वव्यापी रुपमा ईतिहासको पनामा रहेका छन् । चीन, जर्मन,ईटाली लगायतका देशहरुको राज्य निर्माण प्रकृयाका ईतिहासहरु नेपालको एकिकरण प्रकृयासंग मिल्दो जुल्दो नै छ ।

राज्य निर्माणको दृष्टिकोणबाट दक्षिण एसियामा नै नेपालका तत्कालिन गोर्खाका राजा पृथ्वी नारायण शाहाले आजभन्दा लगभग ३०० बर्षअघि २२ से २४ से स-सना राज्यहरुका रुपमा रहेको नेपाललाई एकिकृत नेपाल निर्माण गर्ने अभियानमा लागे । त्यतिबेला नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तैमध्ये एउटा सामान्य राज्यको रुपमा गोर्खा पनि थियो । तत्कालिन गोर्खाका राजा प्रथ्वी नारायण शाहालाई दक्षिण एसियाकै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक रुपमा लिईन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति र सिंगो नेपालको पहिचानको शुरुवातको दिनको रुपमा हेरिन्छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले आधूनिक नेपालको खाका कोरेका हुन् । तत्कालीन नेपाल हालको भारत अधिन रहेको पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको थियो जसलाई आज पनि ग्रेटर नेपाल भनिने गरिएको छ । क्षेत्रफलको दृष्टिकोणले आजको वर्तमान नेपालभन्दा त्यतिबेलाको नेपाल धेरै विशाल थियो ।

राजा पृथ्वी नारायण शाह एकिकरणका नायक मात्र थिएनन् सुशासन र कुटनीतिक क्षेत्रमा पनि कुटिल थिए ।ऊनले भन्ने गरेका “घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्”,”नेपाल दुई ढुङ्गाबिचको तरुल हो”भन्ने ऊक्तिहरु नेपालको सन्दर्भमा अझै सान्दर्भिक छ । आज जसरी नयां नेपाल,आधुनिक नेपालको परिकल्पना गरिदैछ यस सन्दर्भमा प्रारम्भिक चरणमा भएको नेपाल एकिकरणको अभियानलाई ऐतिहासिक दिनको रुपमा स्मरण गर्नु र राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय महत्वको दिनको रुपमा संझनुलाई अप्रासांगिक भन्नु अत्युक्ती नहोला।साथै एकता दिवसलाई राज संस्थाको पुनर्थापनाको सम्भावनाको रुपमा नहेरी राज्य निर्माणको क्रममा ईतिहासको कालखण्डमा भएका घटनाहरुको महत्वपुर्ण दिनको रुपमा हेरिनु अत्युक्ति हुनेछ।

प्रतिक्रिया दिनुहोस्