नुवाकोटको नमूना मतदान केन्द्रमा लफडा, गाउँघरमा मतदाता शिक्षाको कमी-आयोग
नुवाकोट,वैशाख २६ । नमूना मतदान केन्द्रमा लफडा परेको परिदृश्य देखाइएको छ । सोमबार जिल्ला निर्वाचन आयोगले बट्टारस्थित बट्टार क्याम्पसमा सो नमुना मतदानको आयोजना गरेको हो ।
निर्वाचन समयमा नमूना मतदानमा हुने हुलमुल गर्ने, झैझगडा गर्ने जस्ता क्रियाकलाप नहोस् भन्ने हेतुले सो अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयले चुनाव समय घट्ने अप्रिय घटना बढ्न नदिन उपस्थित नागरिकलाई सचेत गराइएको थियो ।
गाउँघरमा मतदाता शिक्षाको कमी
अहिले गाउँमा चुनावी माहोल तातिएको छ। घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन्। आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन।
उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन्। ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ। स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ। मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ।
यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्न सक्ने अवस्था छैन। नुवाकोटमा भोट गन्दै राजनीतिक दलले हचुवा तथ्यांक सार्वजनिक गर्नु अघि मतदाता शिक्षामा जोड दिन आवश्यक रहेको जानकारहरु बताउँछन् ।
निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन्। निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

