राजनीतिको एउटा दुर्लभ रेकर्ड



• बाबुराम लामिछाने

अर्जुननरसिंह केसी ७४ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यो उनको नवौँ संसदीय प्रतिस्पर्धा र पाँचौँ विजय रह्यो । उनले तीनवटा व्यवस्थाका नौ वटा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरे । त्यो पनि नबिराईकन । २०३८ सालमा ३३ वर्षको उमेरमा पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका उनले त्यसपछिका सबै संसदीय निर्वाचनमा (राष्ट्रिय पञ्चायत, प्रतिनिधिसभा, संविधानसभा र फेरि प्रतिनिधिसभा) प्रतिस्पर्धा गरे । कतिले पञ्च, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी सबै हुन भ्याएको भनेर टिप्पणी गरे । गरून् । ‘अवसरवादी’ पनि भने । भनून् । एउटै मान्छे, जिल्ला, भूगोल र मतदाता परिवर्तन नगरीकन उनै मान्छेहरूका बीचमा निरन्तर ५० वर्षसम्म सतिसालझैं ठिङ्ग उभिन सक्नु सामान्य कुरा थिएन । नौ वटा चुनाव लडे। पाँच वटा जिते । चारवटा हारे । कतिले प्रशंसा गरे , कतिले आलोचना गरे । उनलाई चार पुस्ताले भोट हाले । यसमा पनि मानिसका आ-आफ्नै टिप्पणी होलान् । तर, यो पनि कुनै सामान्य कुरा थिएन ।

व्यवस्थाहरू बदलिए । युगहरू बदलिए । पुस्ताहरू बदलिए । प्रविधि बदलिए । जीवनस्तर र जीवनशैली बदलिए । चेतना र जागरणका अध्यायहरू बदलिए । शासकीय स्वरूपहरू बदलिए । अरू पनि धेरै कुरा बदलिए । यी सबै परिवर्तनका श्रृङ्खलाहरूसँगै आफूलाई पनि बदल्दै, रूपान्तरण र समायोजन गर्दै, चारै पुस्ताको साथी र सारथि बन्दै आधा शताब्दी लामो राजनीतिक म्याराथुनका सबै रेस दौडिए उनी । दौडिएनन् मात्र, पाँच पटक गोल्ड मेडलिस्ट र चारपटक सिल्भर मेडलिस्ट बने । समर्थन गर्नेहरूले उनकै नाम लिएर समर्थन गरिरहे । माया गर्नेहरूले उनकै नाम लिएर माया गरिरहे । विरोध, रिस, आहारिस, आलोचना गर्नेले पनि उनकै नाम लिइरहे । ती सबैले सधैँ उनकै नाम जपिरहे । माया गर्नका लागि पनि जपे, गाली गर्नका लागि पनि जपे । उनलाई आफ्नो अवसर, जीवनयात्रा र राजनीतिक यात्रा तथा समाजको उन्नति र समृद्धिका साधक र वाधक दुबै देख्नेहरू छन् । तर, उनमा नुवाकोटे जनतामाथिको विश्वास र भरोसा डगमगाएन । कहिल्यै आरक्षण वा मनोनयनको सजिलो बाटो रोजेनन् । हारिन्छ भन्ने प्रष्ट देख्दादेख्दै पनि जनताको बीचमा जाने बाटो मात्रै समातिरहे । ‘कसैले थकाएर नथाक्नू, कसैले भगाएर नभाग्नू’ भनेर सार्वजनिक रूपमा अरूलाई भनिरहने उनले आफ्नै राजनीतिक जीवनमा यो सिद्धान्त अपनाइरहे ।

मानिसमा अनेकन् संवेगहरू रहन्छन् । मानवीय संवेगहरू यति शक्तिशाली हुन्छन् कि तिनले कहिलेकाहीँ धैर्य, साहस, निष्ठा, सिद्धान्त, यात्रा र उद्देश्यमा नै विचलन ल्याइदिन्छन् । तर उनमा ल्याएनन् । एउटा पनि नबिराईकन निर्वाचन लडिरहे, लडिरहे । पहिले सिक्नु, त्यसपछि बिक्नु र दीर्घकालसम्म टिक्नु सबै चुनौतीका विषय हुन् । कोही सिक्नै सक्दैनन्, कोही सिकेर पनि बिक्न सक्दैनन् र कोही सिकेर र बिकेर पनि टिक्न सक्दैनन् । उनले सके । यस बीचमा राम्रो काम गर्न सके सकेनन्, सबैको चित्त बुझाउन सके सकेनन् त्यो समिक्षाको अर्को विषय होला । उनी नौ पटकसम्म निरन्तर प्रत्यक्ष निर्वाचन लडिरहे वेदाग र निस्कलङ्क रहेर । अझ यसपालिको ‘युवा आँधी’ ले पनि यी ७४ वर्षीयलाई हल्लाउन सकेन । यो कसरी सम्भव भयो ? के असामान्य क्षमता छ उनीसँग ? अरू कुनै राजनीतिज्ञसँग पनि छ यस्तो रेकर्ड ? यो कुनै मानवशास्त्री वा राजनीतिशास्त्रीका लागि खोज अनुसन्धानको विषय हुनसक्छ । होला नहोला त्यो भविष्यले जान्ला । अहिलेलाई चाहिँ पछिल्लो विजय र यो दुर्लभ रेकर्डका लागि केसीलाई हार्दिक बधाई !

प्रतिक्रिया दिनुहोस्