टिम्स व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड लागू, अब यी १४ रुटमा पदयात्रा गर्दा अनुमति लिनुपर्ने



काठमाडौं,चैत २० । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिवार टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् । 

नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा गर्ने पदयात्रीले टिम्स अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । मापदण्डमा तोकिएको रूटमा जानुअघि पदायात्रीले अधिकतम २ हजार रुपैयाँ शुल्क तिरेर अनुमतिपत्र लिनुपर्ने उल्लेख छ । सार्क मुलुकका नागरिकका लागि त्यस्तो शुल्क प्रतिपदयात्री हजार रुपैयाँ, अन्य देशका पदयात्रीलाई २ हजार रुपैयाँ तोकिएको छ ।

उक्त मापदण्डले कूटनीतिक नियोग, विकास साझेदार, दातृनिकायका पदाधिकारी र तिनका श्रीमान÷श्रीमती र छोराछोरीको हकमा प्रतिपदयात्री ५ सय रुपैयाँ शुल्क तोकेको छ । पदयात्री, पथप्रदर्शक र सहयोगीको सुरक्षा सुनिश्चित गर्न उल्लिखित क्षेत्रका पदयात्रामा जाने पदयात्रीका लागि सम्बद्ध कम्पनीले टिम्स अनुमतिपत्र लिनुपर्ने उल्लेख गरिएको छ । 

कञ्चनजंघा क्षेत्रअन्तर्गत चार ओटा ट्रेकिङ रूट कञ्चनजंघा बेस क्याम्प, सेले–ला पास, बेसक्याम्प ट्रेक, नांगो पास ट्रेक र लुम्बा–सुम्बा ट्रेक रूटमा जानेले टिम्स अनुमतिपत्र लिनुपर्नेछ । मकालु–वरुण क्षेत्रको बेस क्याम्प र शेर्पेनी कोल पास ट्रेक, सगरमाथा क्षेत्रको बेस क्याम्प ट्रेक, गोक्यो ट्रेक छोलापास ट्रेक, मेरा पिकसहित ८ ओटा ट्रेकिङ रूटमा जाँदा पनि यस्तो अनुमतिपत्र लिनुपर्ने मापदण्डमा उल्लेख छ ।

रोल्वालिङ क्षेत्रका दुईओटा ट्रेक रूट, पाँचपोखरी–भैरवकुण्ड क्षेत्रको एउटा रूट, हेलम्बुका लाङटाङ र गोसाइकुण्ड ट्रेक गरी २ ओटा रूटमा जानेका लागि अनुमतिपत्र अनिवार्य गरिएको छ । यस्तै, लाङटाङ क्षेत्रका ६ ओटा ट्रेक तथा पासमा पर्ने रूटहरू स्याफ्रुबेंशीदेखि अन्य गन्तव्य क्यान्जिङ, तातोपानी, गञ्जला पास ट्रेकिङ रूटलाई पनि टिम्सअन्तर्गत राखिएको छ । 

गणेश हिमाल–रूबी भ्याली, मनासलुमा ३, अन्नपूर्ण क्षेत्रका ६, मुस्ताङका २, धवलागिरिको एउटा, डोल्पो क्षेत्रको चारओटा ट्रेकिङ रूटमा पर्ने माथिल्लो डोल्पा–जोमसोम, माथिल्लो डोल्पो, तल्लो डोल्पो र कागमारा पास ट्रेकमा जानेले टिम्स अनुमतिपत्र लिनुपर्नेछ । हुम्लाको लिमिभ्याली ट्रेकिङ रूटलाई पनि टिम्सअन्तर्गत राखिएको छ । 
मापदण्डमा टिम्स चेकपोस्ट स्थापना गर्ने व्यवस्था पनि छ । टिम्स लागू हुने क्षेत्रमा आवश्यकता र औचित्यका आधारमा चेकपोस्ट स्थापना गर्न सकिने उल्लेख छ । यस्तो चेकपोस्टमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले खटाएका कर्मचारी, पर्यटन प्रहरी र पर्यटन प्रहरी नभएको स्थानमा नेपाल प्रहरी र स्थानीय तहका प्रतिनिधि रहनेछन् । 

पदयात्रीले टिम्स अनुमतिपत्र तथा पथप्रदर्शक साथमा लिएको वा नलिएको जाँचबुझ गर्ने, जाँदा–फर्किंदाको पदयात्रीको रेकर्ड अद्यावधिक गर्ने, यात्रा गर्ने भौगोगिक क्षेत्रको मौसम र अवस्था जानकारी गराउने, दुर्घटनामा परेमा उद्धारका लागि समन्वय र पहल गर्ने काम यस्ता चेकपोस्टको हुने पनि मापदण्डमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्