पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय, आन्तरिक र बाह्य पर्यटकको घुइँचो



सिन्धुपाल्चोक,बैशाख १४ । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ ।

भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महीनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । 

हेलम्बु आएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित भएका छन् । काठमाडौँ उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु पुगेका उनी आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग परे ।  

भूकम्पले गुम्बाको शहर भनेर चिनिने हेलम्बुको चहलपहल ह्वात्तै घटेको थियो ।  पुनःनिर्माणका क्रमाम आएका विविध समस्या यहाँका स्थानीयले समाधान गरेपछि अहिले माने र गुम्बा ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, मानेले मनै लोभ्याएको शाक्यले बताए । हेलम्बुभित्रको पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उनले बताए । 

“गाउँका मान्छेमा पाप हुँदैन भन्थे, यहाँ आएर थाहा भयो”, शाक्यले भने, “यहाँको सुन्दरताको वर्णन गरी साध्य छैन ।” यहाँको परिवेश, संस्कृति नेपालकै नमूना भएको उनको ठम्याइ छ । भूकम्प र कोरोनाले थलिएका पूर्वाधार, धार्मिकस्थलको पुनःनिर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तङ्ग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिकस्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको सङ्ख्या बढेको हो । 

हेलम्बु आइपुगेका रविन महर्जन पनि एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर देख्दा लोभिएका छन् । “यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो”, उनले  भने,  “स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ, यहाँ प्रत्यक्षरुपमा देख्न पाइयोे ।” उनले यहाँ गरिएको किवीखेती लोभलाग्दो रहेको बताए । अझै समथर भू–भागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर रहेको महर्जनले बताए । “हामीलाई एउटै बस्तीमा रङ्गीन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ”, उनले भने ।

शाक्य र महर्जनमात्रै होइन, भूकम्पपछिको पुनःनिर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बाको पुनःनिर्माणले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायाङ्ग्री, मेलम्ची घ्याङलगायत स्थलमा पुग्ने गरेको तथ्याङ्क छ । अहिले पूर्वाधार र धार्मिक संरचना निर्माण भएकै कारण दैनिक ४० देखि ५० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्