नेपाली पर्यटनमा ९०.२८ प्रतिशत ‘बाउन्स ब्याक’ : बाक्लिँदै विदेशी पर्यटकको संख्या, फर्किँदै रौनक



काठमाडौं,बैशाख १९ । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । एक महिनामै झण्डै एक लाख विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटक बोर्डबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

बोर्डका अनुसार सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना विदेशी पर्यटक हवाई मार्ग मार्फत नेपाल आएका छन् । जुन गत वर्ष (सन् २०२२, अप्रिल) को तुलनामा ६०.४० प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा कुल ६१ हजार ५८९ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

कोरोना महामारीका कारण पछिल्लो ३ वर्ष (२०२०, २०२१ र २०२२) सम्म विदेशी पर्यटकको आगामन न्यून थियो । तर, २०२३ मा भने विदेशी पर्यटकको आवागमनमा उत्साह देखिएको छ । २०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो ।

कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । बोर्डको तथ्याङ्क अनुसार नेपालमा पर्यटन ९०.२८ प्रतिशतले पुनरुत्थान भएको हो । यो २०१९ को तुलनामा हो । २०१९ मा १ लाख ९ हजार ३९९ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

अप्रिलमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट एक महिनामै ३१ हजार ४३७ जना पर्यटक नेपाल आएका हुन् । सो महिनामा अमेरिकाबाट ८ हजार ४१३ जना, बेलायतबाट ५ हजार ४०९ जना, चिनबाट ४ हजार ७७० जना पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यस्तै, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना, जर्मनीबाट ३ हजार २४६ जना, रसियाबाट २ हजार ६६३ , बंगलादेशबाट २ हजार २१७ र थाइल्याण्डबाट २ हजार १०२ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

अप्रिलमा एशियाली मुलुक (सार्स) बाट ३५ हजार ४४३, अन्य एशियालीबाट १४ हजार ६५५, यूरोपबाट २४ हजार ३९३, एशियनबाट ४ हजार २२२, अमेरिकनबाट १० हजार ८५ र अन्यबाट ९ हजार ९७५ बाट नेपाल घुम्न आएका छन् ।

बाक्लिन थाले चिनिया पर्यटक

पछिल्लो समय उत्तर छिमेकी मुलुक चीनबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । कोरोना महामारीका कारण चीनले लामो समयसम्म आफ्नो नागरिकलाई विदेश भ्रमणमा जान रोक लगाएको थियो । तर, पछिल्लो सयमा विदेश भ्रमणका लागि खुल्ला गरेको छ । त्यसपछि नै चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा बढोत्तरी देखिएको बोर्डले जनाएको छ ।

अप्रिलमा मात्रै चिनबाट ४ हजार ७७० जना पर्यटक नेपाल आएका छन् ।जुन गत वर्ष २०२२ को अप्रिलको तुलनामा १२५५ प्रतिशतले बढी हो । २०२२ को अप्रिलमा ३५२ जना मात्रै चिनिया पर्यटक आगमन भएको थियो ।

नेपालमा कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत १० गते ( मार्च २०२० ) बाट लकडाउन गरिएको थियो । त्यसभन्दा अघिसम्म नेपालमा आउने विदेशी पर्यटकको आगमन उच्च थियो । पछिल्लो समय फेरि पर्यटन व्यवसाय लयमा फर्किन लागेको तथ्याङ्कले नै देखाउँछ । कोरोना महामारी अघिकै अवस्थामा आउन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्