बैङ्किङमा उदीयमान रश्मि



काठमाडौँ,मंसिर ६। भारतीय दार्शनिक ओशोले पटक–पटक भनेका छन्, ‘भगवान् गौतम बुद्ध भारतवर्षका कयौँ गुरुकुलमा पुगेर शिक्षा–दीक्षा ग्रहण गरेका थिए ।’ भिन्न–भिन्न गुरुकुलका शिक्षाले उनलाई नवीन ज्ञानको प्रवर्ध्दनमा सघाउ पुग्यो भन्ने उनको मत थियो । धेरैजसो अभिभावकहरू आफ्ना बच्चालाई सबै स्तरीय विद्यालयमा पठाउन चाहन्छन् । तर कसैले पनि हेक्का गरेको हुँदैन की, आफ्ना सन्तानलाई भिन्न विद्यालयमा पढाऊँ । 

विद्यालय शिक्षा भनेको मानिसको बौद्धिक विकासको निकै उर्वर थलो हो र जसले पुरा जीवन जीउनलाई थुप्रै आधारभूत ज्ञानको सङ्ग्रह गर्नमा सघाउँछ । भिन्दाभिन्दै समाजमा चहारेर हुर्केका बालबालिकाहरू अधिकतर बढी तीक्ष्ण र सुझबुझपूर्ण निर्णय गर्न सक्ने खालका हुन्छन् भन्ने धेरैले बुझेकै कुरा हो । यस्तै एक पात्र हुन रश्मि पन्त ।

अहिले प्रभु बैङ्कको प्रमुख सञ्चालन अधिकृत रहेकी छिन् रश्मि पन्त । महेन्द्रनगरको तातो धूपमा ३३ वर्षअघि घरकी जेठी छोरीका रूपमा जन्मिएकी उनी अहिले कम उमेरमै नेपाली बैङ्किङ क्षेत्रकै उच्च ओहोदामा पुग्ने एक महिलाको रूपमा चिनिन्छिन् । उनले एसएलसी परीक्षासम्म विभिन्न जिल्लाका १३ वटा विद्यालयमा पढिन् । बुवा सरकारी न्याय सेवामा रहेकाले देशका झन्डै २ दर्जन जिल्ला चहार्ने मौका उनलाई मिल्यो । त्यस्तो मौका धेरै कमले मात्र पाउँछन् । उनको विद्यालय शिक्षा पनि दार्चुलादेखि सुर्खेत, नेपालगन्ज, बर्दिया, दाङ, कैलाली लगायतका विद्यालयहरूबाट पुरा भयाे ।  

उनको विद्यालय यात्रा दार्चुलाबाट सुरु भयो । त्यस बेला दार्चुलामा एलकेजी भर्ना भएकी उनी ६–७ महिना त्यहाँ पढेर महेन्द्रनगर पुगिन् । फेरि नेपालगन्ज, गुलरिया, सुर्खेत, घोराही र फेरि त्यही रुटमा उनको पढाइ यात्रा घुमिरह्यो । ‘विद्यालय जीवनमा सर्वाधिक टिकेको महेन्द्रनगरमा हो,’ उनी भन्छिन्, ‘९ कक्षाको आधा पढाइ अन्तै पढेर त्यहाँ पुगेकी थिएँ, १० कक्षा पुरा पढेर एसएलसी पनि त्यहीँबाट दिएँ ।’ 

२०५९ सालमा एसएलसी दिँदा माओवादी द्वन्द्वको प्रभाव बढ्दै थियो । त्यसले पनि उनलाई अन्तिम समयमा विद्यालय परिवर्तन गर्न दिएन । त्यसपछि उनले महेन्द्रनगरकै सिद्धनाथ साइन्स क्याम्पसबाट आईएससी उत्तीर्ण गरिन् । स्नातक पढ्नमात्रै उनी काठमाडौँ टेकिन् । उनले भीएस निकेतनमा बिबिए र काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् । अहिले उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गर्दै छिन् ।

जागिरे जीवन 

रश्मिको जागिरे जीवन स्नातकोत्तर सकिएपछि मात्रै शुरु भयो । प्रभु बैङ्कमा अधिकृत स्तरबाट प्रवेश गरेकी उनी त्यसपछि रोकिइनन् । सिधै उप–प्रबन्धकमा आन्तरिक प्रतिस्पर्धा गरिन् र नाम निकालिन् ।

त्यसपछि उनले दुई पटक बढुवा पाइसकेकी छन् । अहिले उनी संरचनागत रूपमा प्रभु बैङ्कको तेस्रो बरीयतामा कार्यरत छिन् । भूमिकाको हिसाबले प्रभु बैङ्कको ‘व्याकबोन’ रहेकी उनले ६ वर्षमै धेरै सिनियरहरुलाई “ओभरटेक” गरिसकेकी छिन् । 

बैकिङमा आउनुभन्दा पहिले रश्मिको चाह विश्व बैङ्कजस्ता विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूमा काम गर्ने थियो । बैङ्क उनको पुरानो रुचि नै होइन । स्नातक सकिने बित्तिकै परिवारले बैङ्कमा जागिर खान आग्रह गर्दा पनि उनले पटक्कै मानिनन् । ‘बैङ्कमा त जाँदै जान्न भनेर बसेकी थिएँ,’ उनी भन्छिन् । वायुमण्डल र पर्वतीय पर्यावरणमा काम गर्ने दक्षिण एसियाली अन्तरसरकारी संस्था इसिमोडमा ‘इण्टर्नशिप’ गरेकी रश्मिले नेपाल उद्योग वाणिज्य महासङ्घमा पनि सार्वजनिक निजी साझेदारी सम्बन्धी ६ महिने परियोजनामा काम गरेकी थिइन् । 

तर उनलाई भाग्यले त्यहीँ डोर्यायो, जहाँ उनी जानै चाहन्नथिन् । संयोगवश भनौँ, उनी प्रभु बैङ्कमा पुगिन् । ‘यहाँ पनि म कोर बैङ्किङ गर्दै गर्दिन, नीति निर्माणमा काम गर्छु भनेर जागिर थालेकी हूँ,’ उनी भन्छिन् । ‘मलाई ‘मोनोटोनस’ काम मन पर्दैन । सधैँ एउटै काम गर्दिन भनेर नै मैले बैङ्किङमा नजाने भनेकी हूँ,’ उनी थप्छिन् । तर बैङ्कभित्र पसेपछि उनले सोचेभन्दा भिन्न वातावरण मिल्यो । त्यहाँ उनले चाहेजस्तै ‘बगैँचामा खेल्न’ पाइन् । 

‘कहिले रणनीति बनाउने, कहिले प्रोफाइल बनाउने, कहिले बजार अध्ययन गर्ने काम पाएँ,’ उनी भन्छिन्, ‘उच्च तहका पदाधिकारीले गर्ने कामहरू मैले गर्न पाएँ । त्यसले मलाई कार्यकारी भूमिकाको अभ्यास गर्ने वातावरण पनि दियो ।’ त्यसपछि बैङ्कभित्र पनि सबै काम दिक्कलाग्दो हुँदैन रहेछ भन्ने उनले थाहा पाइन् । प्रभु बैङ्कमा साढे ६ वर्षको ‘करियर’मा उनले निकै तीव्र फड्को मार्दै अहिले प्रमुख सञ्चालन अधिकृतको भूमिका पाइरहेकी छन् ।

बैङ्कमा छोटो अवधिको पराक्रमले नै उनी उच्च ओहोदामा पुगिसकेकी छन् । सायद यसैले होला उनलाई पुरानो सपनाको कुनै मोह छैन । आईएनजीओ छाडेर बैङ्कमा आउँदा बर्बाद भयो भन्ने हीनताबोध छैन । उनी आफ्नो अरुचिकै पेसामा पनि रमाइरहेकी छन् ।

तयारीको त के कुरा गर्नु ? ‘बैङ्कमा काम गर्ने मान्छेले राजनीति शास्त्र किन पढेको ?’ भनेर हामीले सोध्दा उनको उत्तर यस्तो आयो, ‘यसले राजनीति के हो, विभिन्न मुलुकबिचको सम्बन्ध कसरी विकास भएको छ भन्ने थाहा हुन्छ । भविष्यमा राजदूत भैयो भने काम लाग्छ ।’ उनका तर्कहरू सुन्दा लाग्छ, उनी एक महत्त्वाकाङ्क्षी, तर सक्षम युवती हुन् । 

प्रतिक्रिया दिनुहोस्