सरकारी कार्यालयमा ‘सरसफाइ सप्ताह २०८३’ सुरु हुँदै



काठमाडौँ, वैशाख २८ — सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । अभियान सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालयसँगै सार्वजनिक शैक्षिक संस्थामा पनि लागू गरिने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन र स्वच्छ कार्य वातावरण सुनिश्चित गर्न अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।

अभियानको औपचारिक उद्घाटन सोमबार बिहान वीर अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने तय गरिएको छ । मार्गदर्शनअनुसार कार्यालय परिसर, सेवा क्षेत्र, सूचना बोर्ड, नागरिक बडापत्र तथा शौचालयलाई व्यवस्थित र सफा राख्न विशेष ध्यान दिइनेछ ।

सरकारले शौचालयलाई दुर्गन्धरहित बनाउने, नियमित पानी र साबुनको व्यवस्था गर्ने तथा महिलामैत्री र अपाङ्गतामैत्री संरचनामा जोड दिएको छ । कार्यालयहरूमा कुहिने र नकुहिने फोहोर छुट्याउन कम्तीमा दुई प्रकारका डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी कार्यालय परिसर आसपासको नाली, ढल, पार्किङ क्षेत्र सफा राख्न तथा अव्यवस्थित तार र पोस्टर हटाउन निर्देशन दिइएको छ ।सेवाग्राहीलाई सहज सेवा दिन सहायता कक्ष र सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने, साप्ताहिक सरसफाइ तालिका बनाउने र मासिक स्वमूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्