सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल-अध्यक्ष श्रेष्ठ



नुवाकोट,मंसिर १३ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् ।

बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्धिगणेश आधारभूत विद्यालयमा भएको विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

पछिल्लो समय तुलनात्मक रुपमा लिखु गाउँपालिकाका सामुदायिक विद्यालयका बालबालिकामा शैक्षिक गुणस्तर वृद्धि भएको उनले बताए । श्रेष्ठले भने-‘सामुदायिक विद्यालयकै विद्यार्थी भविष्यमा अब्बल बनेका छन् । डाक्टर, इन्जिनियर बनेका छन् । सामुदायिक विद्यालयलाई नै उपयुक्त निगरानीमा राखेर बालबालिका पढाउन सकेको खण्डमा यसबाट नै जीवन स्तर वृद्धि हुन्छ ।’

अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयकै हितमा राखेर लिखु गाउँपालिकाको आफ्नै श्रोतबाट ६१ लाख रुपैयाँ छुट्ट्याएको बताए । सो रकम विद्यालय कर्मचारी, इसिडी शिक्षक र लेखाका शिक्षकलाई खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई मध्यनजर राख्दै पछिल्लो समय विभिन्न विषयका घुम्ती शिक्षक तथा स्वयंसेवक शिक्षक गाउँपालिकाले खटाएको समेत अध्यक्ष श्रेष्ठले बताए ।

विद्यालयमा भएको पोशाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहयोगी संस्था ‘केयर फर चिल्ड्रेन’का प्रतिनिधि गोकर्ण गुणी, शिक्षा शाखा लिखु गाउँपालिकाका प्रमुख सेरसिंह रावत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम डङोल, प्रधानाध्यापक कमला प्याकुरेल,लिखु गाउँपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष हरिशरण लामिछाने,विद्यालय ब्यवस्थापन समिति महासंघका अध्यक्ष सन्तोष अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सहयोगी संस्था ‘केयर फर चिल्ड्रेन’ले विद्यालयमा अध्ययनरत ६५ बालबालिकालाई विद्यालय पोशाक,खेलकुद सामग्री, बाद्यवादन सामग्री, स्टेसनरी लगायतका सामग्री वितरण गरेको थियोे । पछिल्लो समय सो संस्थाले विद्यालयमा दिवा खाजा लगायतका विभिन्न कार्यक्रममा सहयोग पुर्याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्