माग बढ्दा पनि कुखुराको मासुको मूल्य घट्यो



चितवन,मंसिर १५। ब्रोइलर कुखुराको उत्पादन वृद्धि हुँदा चितवनमा तयारी मासुको मूल्य घटेको छ । चाडवाडको समयमा मासुको खपत बढ्दा खुद्रा तयारी मूल्य प्रतिकिलो ४०० रूपैयाँ थियो तर पछिल्ला दिनमा मासुको मूल्य घटेर ३५० रुपैयाँ कायम भएको मासु व्यवसायी संघ चितवनले जानकारी दिएको छ ।

संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १७० रुपैयाँको हाराहारीमा छ । संघका अध्यक्ष गणेशप्रसाद कँडेलले मागको तुलनामा उत्पादन बढी हुँदा ब्रोइलर कुखुराको मासुको मूल्य घट्दै गइरहको उनले बताए । ‘चितवनमै मागभन्दा ५० प्रतिशतले मासुको उत्पादन बढेको छ,’ उनले भने, ‘बाहिरी जिल्लाबाट पनि यहाँ मासु आउँदा थप सस्तो हुन पुगेको हो ।’

अहिले ब्रोइलरको लागि मौसम अनुकुल र रोग नलागेकाले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘अहिले एउटै कुखराको वजन ३ किलोभन्दा बढी पनि भएको छ, यही अनुपातमा उत्पादन वृद्धि भए मूल्य थप घट्दै जान्छ ।’ चितवनको बजारमा ब्रोइलर कुखुराको तयारी मासुको खपत बढ्दै गए पनि उत्पादनको तुलनामा खपत भने कम भएको उनको भनाइ छ । भरतपुर भ्रमण वर्ष नजिकै आएकाले खपत बढ्ने अपेक्षा व्यवसायीको छ । सामान्य अवस्थामा पनि चितवनमा दैनिक १५ देखि २० टन ब्रोइलर कुखुराको मासु खपत हुने व्यवसायी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्