एनसेलबाट बाहिरिने आजियाटाको घोषणा



काठमाडौं,मंसिर १५ । नेपालका प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेल आजियाटा लिमिटेड (एनसेल) को प्रमुख लगानीकर्ता मलेशियाली कम्पनी आजियाटा ग्रूप बर्हाडले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुतौतीहरू थपिएको भन्दै आजियाटा ग्रूप बर्हाडले सम्पत्ति र दायित्व विक्री गरेर बाहिरिने घोषणा गरेको हो ।

आजियाटाले बुधवार सार्वजनिक गरेको सन् २०२३ को तेस्रो त्रैमासिक प्रतिवेदनमा शेयर विक्री गर्ने घोषणा गरेको हो । एनसेलमा रहेको शेयर स्वामित्व विक्री गर्ने निर्णय ग्रूपको सन् २०२३ सेप्टेम्बर २९ मा बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । शेयर विक्री गर्ने निर्णय स्वीकृत भएको १२ महीनाभित्र खरीदविक्री सम्पन्न गर्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१६ को अप्रिलमा आजियाटा ग्रूप वेस्ट इन्डिजको रेनोल्डस् होल्डिङ लिमिटेडसँग शेयर खरीद गरेर एनसेलमा भित्रिएको थियो । एनसेलमा मलेशियाली लगानीकर्ताको शेयर अंश ८० प्रतिशत छ । बाँकी २० प्रतिशत शेयर अंश भने स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्वमा छ ।

  •  व्यावसायिक चुनौती बढेको निष्कर्ष
  •  सन् २०१९ देखि आम्दानी घटेको घट्यै

एनसेल आजियाटा लिमिटेडको सञ्चालन आम्दानी ६ वर्षदेखि निरन्तर घटेको रेटिङ एजेन्सी इक्रा नेपालको तथ्यांकले देखाउँछ । सन् २०१६ मा भित्रिएको आजियाटाले सन् २०१८ मा भने धेरै सञ्चालन आम्दानी गरेको थियो । 

त्यसयता उसको सञ्चालन आम्दानी निरन्तर घटेको इक्रा नेपालको गत सेप्टेम्बरको प्रतिवेदनले देखाएको छ । 

उक्त प्रतिवेदनअनुसार सन् २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको सन् २०२३ मा आउँदा उक्त आम्दानी ३७ दशमलव ४० प्रतिशतले घटेको छ । सन् २०२३ को अपरिष्कृत प्रतिवेदनअनुसार कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

आजियाटाले नेपालको सन् २०२१/२२ को कुल गार्हस्थ्य उत्पादनमा एनसेलले १ दशमलव ३ प्रतिशत योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । हालसम्म सरकारलाई २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको पनि प्रतिवेदनमा छ । 

एनसेलले १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम सामाजिक कार्यमा खर्च गरेको पनि त्रैमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्