७७ लाखले गरे आन्तरिक हवाई यात्रा



काठमाडौं,पुस २० । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताए । “सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले हवाई सेवा लिएका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ को ११ महिनामा आन्तरिकतर्फ ३७ प्रतिशते हवाई यात्रु बढेका छन्,” उनले भने ।

सूचना अधिकारी भुलले सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशतले हवाई यात्रु बढेको जानकारी दिए। सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि उनले सन् २०२३ को मार्चदेखि (गृष्मकालीन उडान तालिका) हवाई क्षेत्र पुरानै लयमा फर्किएको जानकारी दिए । उनका अनुसार कोरोनापछि नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिनेको सङ्ख्या र चीनका पाँच वटा गन्तव्यमा उडान विस्तारसँगै पर्यटकको ओहोरदोहोरले पनि हवाई यात्रुको सङ्ख्यामा प्रगति हुँदै गएको छ । उनले यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको जानकारी दिए ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०२३ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४१ लाख ५४ हजार ३९३ यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन् । सन् २०२२ को सोही अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ लाख ४५ हजार ५४० जना यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका थिए । 

प्राधिकरणका अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको सङ्ख्या सन् २०२२ मा २९ रहेकामा हाल ३० पुगेको छ । हाल नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र प्राधिकरणले आन्तरिकतर्फ सञ्चालन अनुमति पाएका २१ मध्ये १९ वटा वायुसेवा कम्पनीले ३५ वटा विमानस्थलमा आन्तरिक हवाई सेवा दिँदै आएको छ । हाल देशमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलसहित ५५ वटा विमानस्थल छन् । 

प्राधिकरणका अनुसार पछिल्लो ११ महिनामा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक सबैभन्दा बढी लुक्ला विमानस्थलमा ३४ हजार ६०३, पोखरामा १४ हजार ५९३, नेपालगन्जमा ११ हजार ६९८, विराटनगरमा १० हजार ७९५ र भैरहवामा आठ हजार ७८६, उडान अवतरण भएका छन् । सोही अवधिका सबैभन्दा कम रेसुङ्गा विमानस्थलमा छ, इलामको सुकिलुम्बा विमानस्थलमा ३०, खानीडाँडामा ३८र्,   मा ४१, साँफेबगरमा ४६ र बझाङमा ५५ मात्रै उडान अवतरण भएको प्राधिकरणले जनाएको छ ।

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य अनुरूप सन् २०२३ मा १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्