ढुङ्गेबाट त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
नुवाकोट,असोज २९ । भोटेकोसी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदी वारपार गर्ने आवागमन सहज बनाउन निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ।
विदुर–१ को ढुङ्गेबाट त्रिशूली जलविद्युत् केन्द्रको इन्टेकको डिलमुनि जडान गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई नदी वारपार गर्न केही सहज भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघ र नुवाकोट निर्माण व्यवसायी संघको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो। निर्माणका लागि विदुर नगरपालिकाले आवश्यक स्थान उपलब्ध गराउनुका साथै अन्य सहजीकरण गरेको थियोे ।
पुल सञ्चालनमा आए पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइनसकेकाले पैदलयात्रीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरिएको छ।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले ढुङ्गे र त्रिशूली बजार जोड्ने पक्की पुलहरू बगाएपछि यस क्षेत्रको आवागमन प्रभावित हुँदै आएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई नदी वारपार गर्न राहत पुग्ने अपेक्षा गरिएको छ।

