लगानी सम्मेलन : स्वदेशी परियोजनामा विदेशी साझेदार



काठमाडौं,बैशाख १८ । काठमाडौंमा आइतबारबाट शुरू भएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ । 

लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एकैथलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उनीहरूलाई ठूला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ । उनीहरूलाई आश्वस्त पार्न नेपालमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाहका लागि पनि नेपालले भरमग्दूर प्रयास गरिरहेको छ । 

लगानी सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बाह्य र आन्तरिक लगानीका लागि उपयुक्त स्थान रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए  । उनले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको बताएका थिए ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले पनि लगानी प्रवर्द्धन र कानुनी सुधारको सन्देशले लगानीकर्तामा सकारात्मक सन्देश प्रभाव भएको विश्वास व्यक्त गरेका थिए ।  

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनले नेपालमा लगानीको राम्रो वातावरण बनेको सन्देश प्रवाह गरेको दाबी गरे । ‘हिजो साँझ प्रधानमन्त्रीसँग विदेशी लगानीकर्ताले भेटवार्तामा पनि विदेशी लगानीकर्ताहरू उत्साहित हुनुका साथै नेपालमा लगानी गर्न इच्छुक देखिनुभएको बुझ्न सकिन्थ्यो । त्यसका साथै नेपालमा लगानीको सम्भावना रहेको र यहाँ लगानी गरेर नाफा पनि कमाउन सकिन्छ भन्ने उहाँहरूको बुझाइ पाए,’ उपाध्यायले भने ।

पूर्वअर्थसचिव समेत रहेका अर्थविद् रामेश्वर खनाल नेपालले अध्यादेश ल्याएर कानुनी सुधारमा देखाएको तत्परताले विदेशी लगानीकर्तालाई स्वदेशमा लगानीका लागि सहजीकरण गर्न सरकार सम्पूर्णरूपमा तयार छ भन्ने सन्देश प्रवाह भएको बताए । यसकार्यले विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षित गर्ने उनको भनाइ छ ।

‘पहिचान भएका मुख्य नीतिगत सुधार गरिसक्यौं । अरु थप सुधार पनि गर्दै जानेछौं भन्ने नेपालको सन्देश छ । नेपाल खुला र उदार अर्थतन्त्रमा विश्वास गर्छ भन्ने सन्देश प्रधानमन्त्रीले पनि दिनुभएको छ,’ खनालले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरणको सकारात्मक सन्देश दिएर विदेशी लगानी आकर्षित गर्न गरेको प्रयास प्रशंसनीय छ ।’सम्म चल्ने सम्मेलनले विगतमा भएका कमजोरी सच्चाएर लगानीमैत्री वातावरण तय गर्ने विश्वास दिलाउन सकेमा स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित बनाउने पनि खनालको बुझाइ छ । 

हिजोसम्म चलेको सम्मेलनले विगतमा भएका कमजोरी सच्चाएर लगानीमैत्री वातावरण तय गर्ने विश्वास दिलाउन सकेमा स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित बनाउने पनि खनालको बुझाइ छ । 

‘सम्मेलनको पहिलो दिनमा नै थप लगानीमैत्री वातावरण तय गर्न सरकारले देखाएको तत्परताले निकै राम्रो सन्देश प्रवाह भएको छ । अब बढीभन्दा बढी विदेशी लगानी, शीप र प्रविधि भित्र्याउन र आवश्यकताको आधारमा परियोजनाको प्राथमिकरण गर्दै अगाडि बढ्नुपर्छ,’ खनालले भने । 

प्रतिक्रिया दिनुहोस्