नागरिकमा नेपाल टेलिकमको २५ प्रतिशत शेयर हस्तान्तरण गरिने



काठमाडौ,माघ २२ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमलाई सबल कम्पनीको रुपमा व्यवस्थित गराउन सरकारले २५ प्रतिशत शेयर जनतामा हस्तान्तरण गर्ने बताएका छन् ।

नेपाल टेलिकमको २१ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिको विकास तथा व्यापारमा भएको प्रतिस्पर्धाका बीच नेपाल टेलिकमलाई सक्षम बनाउन सरकारले नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

सञ्चार मन्त्री गुरुङले हाल नेपाल टेलिकमको अघि प्रतिस्पर्धा गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने चुनौती रहेको उल्लेख गर्दै त्यसलाई सामना गर्ने गरी सेवा प्रवाह, पहुँच वृद्धि र प्रविधिको प्रयोगमामा जोड दिनुपर्ने बताए । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले नेपाल टेलिकमले देशका सबै वडाहरूमा गुणस्तरीय फोर जि सेवा र इन्टरनेटको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए ।मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा लगानी प्रवर्द्धन तथा व्यवसाय सुदृढीकरण गर्ने गरी सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै मुलुकको सञ्चार तथा सामाजिक सञ्जालहरूलाई व्यवस्थित गर्ने गरी विधेयक  संसदमा दर्ता गरेको बताए । 

सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशहरू पारित भएको खण्डमा मुलुकमा सुशासन स्थापना लगानीको वातावरण निर्माणमा कोशेढुंगा हुने पनि सञ्चारमन्त्री गुरुङले बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले ग्राहकका गुनासाको सम्बोधन र सेवाको प्रवाहमा शीघ्रता ल्याउने गरी नेपाल टेलिकमले  काम गर्ने बताए । 

उनले नेपाल टेलिकमको सेवा विस्तारका लागि आवश्यक टावर लगायतका संरचना निर्माण तथा बिलिङसम्बन्धी योजना छिट्टै कार्यान्वयनमा लैजाने बताए । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरणको लागि आवश्यक प्रक्रिया पनि छिट्टै अघि बढाउने प्रतिबद्धता समेत सचिव अर्यालले व्यक्त गरे ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपाल टेलिकमले अब आफ्ना सेवाहरूलाई समयानुकूल सुधार गरी डिजिटल अपरेटरको रुपमा आफूलाई अघि बढाउनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्