पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ,कात्तिक २९ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशीसहित पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाले वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको छ।

