धादिङको खनियाबासस्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास



धादिङ,माघ २६ । धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरिएको छ । शुक्रबार संविधान सभा सदस्य दिलमान पाख्रिन,  खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ५१ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा सो स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ ।

भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेना गृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुने छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको राजदूतावासले बताएको छ । स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्ने बताइएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको  राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्