‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह



काठमाडौ,माघ ३० । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी केही नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न आग्रह गरे । उनले भने, “खोप विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित र प्रभावकारी भनेर पुष्टि गरिसकेको छ । कतिपयले परीक्षणका लागि खोप लगाइएको भनेर भ्रम छरिरहेका छन्, त्यो सत्य होइन । यो सुरक्षित र प्रभावकारी भएकाले ढुक्कले लगाउन अनुरोध छ ।” 

फागुन ६ गतेसम्म चल्ने अभियानका क्रममा एक साताको अवधिमा देशभर ६२ प्रतिशत खोप ‘कभरेज’ देखिएको समेत शाखा प्रमुख गौतमले जानकारी दिए ।  “खोपबाट कोही नछुटुन् भन्ने हाम्रो लक्ष्य हो । अभियान सन्तोषजनक रूपमा चलिरहेको छ । खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको छैन”, उनले भने। 

डा गौतमकाअनुसार आजसम्म देशभर १० लाख ३७ हजार नौ सय आठ जनाले खोप लगाएका छन् । विद्यालय केन्द्रित यो निःशुल्क खोप अभियान माघ २२ गतेदेखि सुरु गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्