बबरमहल खानेपानी पाइप मर्मत सम्पन्न

काठमाडौ,फागुन १ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डरग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात् काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, “पाइप फुटेपछि मन्त्री ज्युको निर्देशन पश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ ।”
बिद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवले बताउँदै आएका छन् ।
बिद्युतका तारहरू अन्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विशेष अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।