प्रचण्डविरुद्ध जनार्दनको टिप्पणी: प्रधानमन्त्री रहेको बेला जनता झुक्याएको आरोप

रुकुम पश्चिम,फागुन १ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका छन् । बिहीबार जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा भूकम्प पीडितहरुको आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग दिने भनिएपनि त्यो मौखिकमात्रै भएको बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकारले त्यो निर्णय गरेको कुनैपनि कागजातहरु फेला नपरेको उनको भनाइ छ ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अहिले ४ लाख रुपैयाँ दिने भनि निर्णय गरेको पनि उनले सुनाए । उनले भने, ‘हुन त अघिल्लो सरकारले हामीलाई ५ लाखको घोषणा गरेको थियो घर बनाउने । ५ लाखले एउटा छाप्रो बनाउँला भन्ने आशा थियो । तर, त्यो हामीले डकुमेन्ट खोजेर कहीँ पनि भेटेनौं । मौखिक रुपमा रहेछ, त्यो लिखित कुरा भेटिएन । अहिलेको सरकारले चार लाख भनेर निर्णय गर्दिएको छ । एक लाख त हाम्रो घट्यो । त्यसमा पनि हामीले प्रश्न त उठाएका छौं । यसबाट हामीले एउटा छाप्रो बनाएर पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने छ । अब त्यसको तयारीमा यहाँहरु लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’
अघिल्लो सरकारमा कर्णालीबाटै निर्वाचित मन्त्री (शक्तिबहादुर बस्नेत) पनि सहभागी रहेपनि भूकम्प पीडितहरुको पक्षमा कुनै काम हुन नसकेको उनले टिप्पणी गरे । अहिलेको सरकारले कमसेकम कार्यविधि टुङ्ग्याएको भन्दै उनले अब पूनर्निर्माणको काम अगाडि बढ्ने विश्वास दिलाए । ‘हारगुहार नगरेको होईन, अघिल्लो सरकारमा हाम्रो वरिपरीका मन्त्री हुनुहुन्थ्यो । मन्त्रीहरुलाई छिटो तयार गर्दिन भनियो । अहिले पनि मन्त्रीज्यूहरुलाई भनेको छ । अहिले कमसेकम कार्यविधि टुङ्गिएको छ,’– उनले भने ।