कृषिमन्त्री अधिकारीले भने-‘प्रतिफल आउने गरी काम गर्नुस्’

काठमाडौं,फागुन २ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफलविना उपलब्धि नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
‘हामीसँग विज्ञहरूको खाँचो छैन, लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ, तथापि नतिजा आउन सकिरहेको छैन, चार्टले प्रगति देखाउन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने ।
उनले कृषि कर्ममा लागेकाहरूलाई हामीले के दियौं भन्ने सोचेर कार्य गर्न जरुरी रहेको बताए ।
कानूनी अवरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढी क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पूरा हुने भएकाले यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन दिए ।