विदेश पठाइदिने भन्दै ७१ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

भक्तपुर,फागुन ३ । बेरोजगारमा युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीको आधारमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने बर्ष ४१ का गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका काफ्लेथोक घर भई बनेपा बस्ने बर्ष ३९ का दिनेश प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान हुँदा विदेश पठाउने भनी १४ जना व्यक्तिहरूबाट रु. ७१ लाख ७० हजार ठगी गरेको आरोपमा उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को ठगी सम्बन्धी कसुरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए ।
लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर उनीहरू सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए ।
साथै पक्राउ परेका व्यक्तिहरूबाट अन्य व्यक्तिहरू समेत ठगिनु भएको भए जिल्ला प्रहरी परिसर भक्तपुरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।