आन्तरिक पर्यटकको ‘हब’ बन्दै घ्याङस्वारा पार्क, दिनानुदिन पर्यटकको घुइँचो



नुवाकोट,फागुन ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका-४ मा निर्मित घ्याङस्वारा पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । बिदाको दिन होस् वा चाडपर्वका समय, अन्य दिन भन्दा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

फागुन महिनाको पहिलो शनिबार पार्कमा करिब पच्चीस सय भन्दा बढी अन्यत्र स्थानबाट आन्तरिक पर्यटक घ्याङस्वारा पार्क पुगेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले  जानकारी दिए । शनिबार झन्डै ४० को हाराहारीमा बस तथा माइक्रोबस पार्क पुगेको थियोे ।

“पर्यटन प्रवर्द्धनका लागि हामीले गरेको प्रयास सफल हुँदै छ, यो निकै खुसीको कुरा हो”, अध्यक्ष तामाङले उत्साहित हुँदै भने, “हामीले सोचेको भन्दा पनि धेरै पाहुना आएका छन् यसमा अत्यन्त खुशी छौ ।”

शनिबारका दिन बिशेषगरी नुवाकोटसंग सम्बन्ध गासिएका ब्यक्ति मात्र होइन, काठमाडाैं, भक्तपुर, ललितपुर लगायत क्षेत्रका आन्तरिक पर्यटकहरू समेत पार्कमा पुग्ने गरेका छन् ।

आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चकन्या गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कोषको सहयोगमा वडा नम्बर ४ मा घ्याङस्वारा पार्कको निर्माण गरेको हो । पार्कमा वनभोज स्थल,सिढियुक्त भ्रमण स्थल, मन्दिर, सहिद स्मारक क्षेत्र आकर्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्