राप्रपाका प्रमुख सचेतक शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित



काठमाडौ,फागुन ४ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीको अभिव्यक्तिप्रति सभाको ध्यानाकर्षण भएको र सभाबाट पारित भएको विधेयकका सम्बन्धमा यथार्थ नबुझी व्यक्त कपोलकल्पित अभिव्यक्तिप्रति सभाले खेद प्रकट गरेको घोषणा गरे । 

यस्तै, बैठकले सांसद शाहीलाई आगामी दिनमा आफ्ना विचार र अभिव्यक्ति दिँदा सुझबुझ पूर्ण, बस्तुनिष्ठ र तथ्यपरक हुन समेत निर्देशन दिएको छ । 

प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित भएपछि त्यसमा असन्तुष्टि जनाउँदै राष्ट्रियसभाको औचित्य र सभाका सदस्यहरूको क्षमतामाथि प्रश्न उठाएका थिए । 

बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरुले सांसद शाहीको अभिव्यक्तिले राष्ट्रियसभाको मानमर्दन गरेको भनी खेद प्रस्ताव पारित गर्न माग गरेका थिए ।

यस्तै, राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव पारित गरेको हो ।

यस्तै, बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्