लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित



बाके,फागुन ५ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ। 

पाँचौँ अधिवेशनको दशौँ बैठकले ‘लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’र ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए । 

सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गरेको उक्त विधेयकलाई प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको हो।

यसैगरी, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि मुख्यमन्त्री आचार्यले प्रदेशसभामा प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ।

हिजै बसेको पहिलो बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले किसानलाई रासायनिक मल उपलब्ध गराउन, गतवर्षको आर्थिक दायित्व अविलम्ब भुक्तानी गर्न, चालु आर्थिक वर्षका योजनाहरू समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्