पाथीभरामा केबलकार निर्माण छिटो सिध्याउन माग



काठमाडौं,फागुन ७ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण चाँडै सक्नु पर्ने जिल्लावासीले माग गरेका छन् । उनीहरूको माग छ, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’

मङ्गलबार सदरमुकाम फुङलिङमा भेला भएका सैयौँ जिल्लावासीले सद्भाव र्‍याली निकाल्दै केबलकारले जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै केबलकार निर्माण चाँडै सक्नुपर्ने माग गरे ।

तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्‍याली निकालिएको हो ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सुरु भएको र्‍यालीले सदरमुकामका विभिन्न स्थानको परिक्रमा गरेको थियोे ।

‘बृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानर सहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्