रासस वार्षिकोत्सव: नुवाकोटका हरिराम भेटवालले पाए उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार



काठमाडौं,फागुन ७ । राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत छ विधामा १२ जना पत्रकार तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । 

राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् । 

उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार हरिराम भेटवालले प्राप्त गरे,उनी नुवाकोट शिवपुरीका स्थायी वासिन्दा हुन् । त्यसैगरी उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका  तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईले प्राप्त गरे । उनीहरुले जनही २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे । 

उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल कुमालले  प्राप्त गरे । 

उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्का पुरस्कृत भए । 

उत्कृष्ट आलेख विधातर्फ झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सहायक सम्पादक टिकाराम सुनार पुरस्कृत भए ।

उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्राप्त गरे । उनीहरु सबैले जनही रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका थिए । 

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरी पुरस्कृत छनोट गरिएको थियो ।

राससले वार्षिकोत्सवका अवसरमा तीन सेवाग्राही नेपाल टेलिभिजन, अनलाइन खबर डटकम र पोखरास्थित समाधान दैनिकलाई पनि सम्मान गरेको छ । 

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससबाट वितरण हुने ‘आदत्यिध्वज जोशी स्मृति पुरस्कार–२०८१’ बाट अङ्ग्रेजी शाखाका कार्यकारी सम्पादक मनोज कार्की र फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी जनही रु सात हजार पाँच सय रहेको छ ।

रासस कर्मचारी सङ्घबाट वितरण हुने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८१’ बाट रासस कोशी प्रदेशका कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र रासस केन्द्रीय कार्यालयका सहायक मैना थापा पुरस्कृत भए । उनीहरुले जनही नगद रु सात हजार सात ७७ र प्रमाणपत्र प्राप्त गरे । 

नेपाल पत्रकार महासङ्घबाट वितरण हुने ‘रासस पत्रकारिता पुरस्कार–२०८१’ बाट नेपाली समाचार सम्पादन शाखाका सहायक सम्पादक विक्रम गिरी र फोटो सम्पादन शाखाका फोटो सम्पादक किरण भट्टराई पुरस्कृत भए । उनीहरुले जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । 

प्रतिक्रिया दिनुहोस्