केआईआईटीले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं,फागुन ८ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । युनिभर्सिटीले लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो ।
युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।