परराष्ट्रमन्त्री डा. देउवा स्वदेश फिर्ता

काठमाडौ,फागुन ८ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छिन् ।
भारतीय विदेशमन्त्री डा एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी यही फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन ।
सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता रहेको थियो । सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन ।
यस भ्रमणका क्रममा मन्त्री डा देउवाले भारतीय विदेशमन्त्री डा जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन । त्यसैगरी उनले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, सम्पदा तथा पर्यटन मन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलङ्काका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिइन ।
इरानका विदेश मन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन ।
त्यसैगरी जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको विपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो भने युएई, श्रीलङ्का र ओमनका विदेश मन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरूलाई आग्रह गरेकी थिइन । यस भ्रमणका क्रममा नेपाल र ओमनबिच कूटनीतिक तथा पर्यटन क्षेत्रका दुई छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो ।